माओवादी सांसद राजन दाहलले ‘दिउसै रात’ पारे…

मंगलबार, ११ भाद्र २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा सांसद राजन दाहालले आफ्नै पार्टीसँग झुट बोलेर दिउसै राज पारेका छन् । पछिल्लो समय आफ्नै पार्टीको कार्यालय भवन निर्माणमा उठेको रकम हिनामिना गरेको आरोप खेपेर कारवाहीको लागि जिल्लाबाट सिफारिस भएका दाहालले जनसेवा फाउण्डेशनलाई ४५ लाख रुपैयाँ दिएको दावी गरेर दिउसै रात पारेका हुन् ।

व्यक्तिको नाममा खाता खोलेर पार्टी कार्यालय भवन निर्माणका लागि उठाइएको रकमको हिसाब देखाउन र बाँकी रहेको रकम पार्टीको खातामा बुझाउन जिल्ला कमिटीले दाहाललाई निर्देशन दिएको छ । तर दाहालले भने सो रकम पार्टीलाई नदिने र जनसेवा फाउण्डेसनमार्फत गरिब, दुःखी र असहायलाई सघाउनेगरी सो संस्थाको खातामा जम्मा गरेको बताइरहेका छन् ।

दाहाल पत्नी दीपी बोहोरा दाहालको अध्यक्षतामा स्थापना भएको सो संस्थाका पछिल्ला सबै लेखा परीक्षण प्रतिवेदनमा भने ४५ लाख रुपैयाँको हिसाब देखिएको छैन । उठेको रकम पनि अपारदर्शी रहेको र ठूलो रकम दाहालले हिनामिना गरेको आशंकामा पार्टीले छानविन गरिरहेका बेला उनैले दावी गरेको रकमसमेत संस्थाको आयव्यय विवरणमा नदेखिएपछि अनियमिताको आरोप पुष्टि भएको हो ।

आफूमामाथि पार्टीभित्रैबाट लागेको आरोपको सन्दर्भमा दाहाल अहिले विभिन्न मिडियामा पार्टी एकता हुँदा बसेको भाडा एमालेहरुले मागेपछि आफैंले आह्वान गरेर एमालेको जस्तै÷जत्रै पार्टी कार्यालय भवन बनाउन स्वेच्छिक चन्दा माग गरेको बताइरहेका छन् । उनले भवन बनाएर बचेको रकम जनसेवा फाउण्डेशनमा राखेर जन सेवाका काममा लगाइन्छ भनिरहेका छन् ।