मुना पाण्डे हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्यो संदिग्ध व्यक्तिको तस्बिर

बिहिबार, १३ भाद्र २०८१

काठमाडौं – अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या गरेको आशंकामा प्रहरीले एक व्यक्तिको तस्वीर सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरी विभागले पाण्डे बस्ने गरेको अपार्टमेन्टबाट बाहिरिँदै गरेका एक संदिग्ध व्यक्तिको तस्बिर सार्वजनिक गरेको हो ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् । सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन्। हत्यार पत्ता लगाउन स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। गत सोमबार साँझ पाण्डे ह्युस्टनको वेस्ट एयरपोर्ट बुलेभार्डस्थित आफ्नै अपार्टमेन्टमा गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन्।

नेपालिज एसोसिएसन अफ ह्युस्टनका द्रोण गौतमका अनुसार पाण्डेलाई तीनवटा गोली लागेको थियो र उनी ओछ्यानमा टाउको तल पारेर पल्टिरहेको अवस्थामा भेटिएकी थिइन्। उनले भनेका छन्, ‘अनुसन्धानबाट यो कसरी भयो भन्ने कुरा थाहा हुनेछ।’

पाण्डेको अन्तिम संस्कारका लागि नेपालबाट उनकी आमा अनिता पाण्डे अधिकारी अमेरिका जान चाहेकी छन्। तर उनले आर्थिक समस्या भएको बताएकी छन्। यसैबीच मुनाको अन्तिम संस्कार तथा उनकी आमालाई अमेरिका यात्राका लागि खर्च जुटाउन गोफन्डमी अभियान सुरु गरिएको छ।