संसदीय समितिमा बोल्दा फेरि फसे रवि, आफैले निकाले २५ करोडको प्रसंग

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं – सहकारी बचत अपचलन सम्बन्धी संंसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँग वयान लिएको थियो । अघिल्लो हप्ता लिइएको वयानमा लामिछाने २५ करोडको प्रसंग निकाले पछि समितिका सदस्यहरु चकित परेका छन् ।

समितिमा करिब ७ घण्टा सोधपुछ भएको बयानमा ग्यालेक्सीका तत्कालीन प्रबन्ध निर्देशक रहेका रविले २५ करोडवाला प्रसंग निकालेका थिए । संसदीय समिति सोधपुछमा रविले ग्यालेक्सी टीभी सञ्चालन गर्न २५ करोड ऋण लिन बैंकमा पुगे पनि गितेन्द्रबाबु (जीबी) राईले ‘२५ करोड ऋणका लागि बैंक–बैंक धाउने मान्छे होइन’ भन्दै फर्काएको बयान दिएका थिए ।

‘टेलिभिजन सञ्चालन गर्ने घोषणा भएपछि छविलाल जोशी र म (रवि लामिछाने) २५ करोड ऋणका लागि बैंकमा गएका थियौं । बैंकले ऋण दिन तयार रहेको बताउँदै ऋण लगानीका लागि कार्यकारी अध्यक्ष पनि चाहिने बताइयो,’ रवि लामिछानेले समितिलाई दिएको बयान उद्धृत गर्दै स्रोतले भन्यो, ‘बैंकबाट नै निज राईलाई फोन गर्दा २५ करोडको लागि बैंक–बैंक धाउने मान्छे नभएको भन्दै ५ वर्ष टेलिभिजन ढुक्क भएर चलाउन बैंकले दिन तयार भएको ऋणसमेत नलिने भएर फर्कियौं ।’

स्रोतका अनुसार रविको उक्त बयानमा ‘सुशासनको कुरा उठाउने तपाईंले यति ठूलो लगानी कहाँबाट आउँछ भनेर जीबी राईसँग छलफल भएन ?’ भनी प्रश्न गरिएको थियो । जवाफमा रविले आर्थिक व्यवस्थापन आफूले गर्ने भन्दै पाँच वर्षका लागि कुनै समस्या नहुने र कार्यक्रम बनाउनमा ध्यान दिने भनेपछि आफूले टेलिभिजनको कार्यक्रम उत्पादनमा मात्रै ध्यान दिएको बताएका थिए ।

‘जीबी राई सहकारीमा पनि आबद्ध हुनुहुन्छ भन्ने थाहा थिएन । व्यावसायिक मान्छे भएकाले कतैबाट लगानी ल्याउनुभयो होला भन्ने सोचेँ,’ रविको बयान उद्धृत गर्दै स्रोतले भन्यो, ‘सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको र गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको भनिएको रकमबारे कुनै जानकारी नभएको उहाँको बयान थियो ।’

रविले सोधिएको ५१ प्रश्न र थप प्रतिप्रश्नमा उनले आफ्नो कुनै पनि सहकारीमा ऋण लिनका लागि कागज नगरेको र आफ्नो कुनै पनि डकुमेन्ट प्रयोग नभएको बताएका थिए । संसदीय विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सदस्य रहेका शिशिर खनाललाई सँगै राखेर उनले आफूले दिएका बयान दुई पटक पढेर मात्रै मध्यराति साढे १ बजे हस्ताक्षर गरेका थिए ।