विद्यार्थी विदेश पठाउने मात्र होइन विदेशी गएकाहरुलाई फर्काउने काम गर्नुस्: मन्त्री भण्डारी

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले सैक्षिक परामर्श व्यवसायीहरुलाई विद्यार्थी विदेश पठाउने मात्र होइन   विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी काम गर्न आग्रह गरेका छन् ।

बिहिबार नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  इक्यानलाई भूमिका परिवर्तन गर्न र मुलुकलाई शैक्षिक हबका रुपमा विकास गर्ने योजनामा लाग्न  आग्रह गरेका हुन् ।

“पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै मन्त्री भण्डारीले अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने विश्वाश दिलाउन आवश्यक रहेको बताए  ।

उनले भने, ‘उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको छ,  नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेकाले यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका बिनाउनु पर्छ ।’

“सरकार युवा जनशिक्तलाई स्वदेशमै रोक्ने नीतिका साथ अगाडि बढेकोअबस्थामा  निजी क्षेत्र त्यसमा पनि विशेषगरी इक्यान जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताए।

सरकारले ‘स्टार्टअप’ लगायत नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताए ।

सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको भूमिका बुझेको र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत मन्त्री भण्डारीले बताए ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले संस्थाको २८ वर्षको इतिहासमा योगदान गर्ने सबैलाई धन्यवाद दिँदै आजको सहभागिताले आगामी यात्रामा अझ सशक्त भइ अघि हौसला मिलेको बताए ।

कुनै पनि देश विकासका लागि उक्त देशका युवापिँढीले उन्नत शिक्षा पाउनुपर्ने बताउँदै त्यसका लागि इक्यानलगायत संस्था महत्त्वपूर्ण रहेको उनले बताए । अध्यक्ष भट्टराईले शैक्षिक परामर्श दातृ संस्थाहरू व्यावसायिक क्षेत्र भएको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि पूर्ण रुपमा पालना गर्दै जानेमा विश्वास व्यक्त गरे ।

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले लामो समयपछि शैक्षिक परामर्श दातृ संस्थाहरू नवीकरणको प्रक्रियामा गएकोमा खुसी व्यक्त गरे । यो क्षेत्र नियमनको अभावमा सञ्चालन भइरहेको अवस्थामा इक्यानकै सक्रियतामा विगतमा निर्देशिका बनेको स्मरण गर्दै थप नीतिगत स्पष्टताका लागि इक्यानले पहल गरिरहेको उनले बताए ।

“नीतिगत रुपमा अझै पनि केही समस्या छन्, ती समस्या समाधानका लागि इक्यान निरन्तर प्रक्रियामा छ, यदि विद्यार्थीलाई विदेश जान रोक्ने सोचका साथ काम गर्ने हो भने विदेशी लगानीमा शैक्षिक परामर्श संस्था पनि बन्द हुनुपर्छ”, उनले भने ।

प्रत्यक्ष विदेशी लगानीसम्बन्धी नीतिमा कानून व्यवसायीका लागि व्यवस्था गरिएको नियमलाई गलत ढङ्गले व्याख्या गरी शैक्षिक परामर्श दातृ संस्थामा पनि विदेशी लगानी ल्याउने काम भइरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको बताए । उनले उद्योग मन्त्री भण्डारी समक्ष शैक्षिक परामर्श दातृ संस्थामा विदेशी लगानी ल्याउन नपाउनेगरी नियम बनाउन आग्रह गरे ।

पाण्डेले इक्यानअन्तर्गतका शैक्षिक परामर्श संस्थाहरूले विदेशी विद्यार्थी पनि नेपाल ल्याउनेगरी काम गरिरहेको र यसका लागि इक्यानले पनि पहल गरिरहेको बताए । उनले नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने उल्लेख गर्दै सरकारको यस सोचमा इक्यानको साथ र सहयोग रहने स्पष्ट पारे ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले शैक्षिक परामर्श व्यवसायका लागि छुट्टै कानून आवश्यक भएको धारणा व्यक्त गरे । नेपालमा पनि विभिन्न देशबाट विद्यार्थी ल्याउन सकिने धारणा राख्दै उहाँले शैक्षिक हबका रुपमा नेपाललाई विकास गर्न सकिने बताए । यसका लागि सरकारले विदेशी विद्यार्थीलाई भिसामा सहजीकरण गर्नुपर्ने उनले बताए ।

“नेपालमा लगानीको वातावरण बनाउन सकियो र यही रोजगारीलगायत अवसर सृजना गर्न सकियो भने विद्यार्थीलाई रोक्न सकिन्छ त्यसतर्फ सरकारको ध्यान जानुपर्छ, त्यसपछि अहिले विदेश गइरहेका विद्यार्थी पनि स्वदेशमा फर्कने वातारण बन्छ”, उनले भने ।

शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले लामो समयदेखि बन्द रहेको शैक्षिक परामर्श संस्थाको नवीकरण प्रक्रिया हालै सुरु भएकाले व्यवसाय सञ्चालनमा अब थप सहज हुने बताए । मन्त्रालयबाट पनि नवीकरणको प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउन निर्देशन प्राप्त भएको उल्लेख गर्दै नवीकरण छिट्टै पूरा हुनेमा विश्वस्त हुन आग्रह गरे ।

शैक्षिक परामर्श व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र बरालले शैक्षिक परामर्श क्षेत्रलाई हेर्ने सोचमा परिवर्तन जरुरी रहेको बताए । सकारात्मक सोचका साथ अघि बढ्ने जरुरी रहेको उल्लेख गर्दै नेपाललाई शैक्षिक गन्तव्य बनाउनका लागि यस क्षेत्रले काम गरिरहेको उनले बताए ।