एकीकृत समाजवादीको माइन्युट एमालेको हातमा
काठमाडौँ – पदाधिकारी तथा पोलिट ब्युरो चयन सकिएको एक हप्तापनि नबित्दै एकीकृत समाजवादी बाग्लुङ्गमा जिल्ला नै रित्तिएको छ।
गत असारमा भएको नेकपा एकीकृत समाजवादीको महाधिवेशनपछि जिल्ला फर्किएर बागलुङका नेताले केन्द्रमा पठाएको निर्णय बिपरित पार्टी विभाजनको मर्म बिर्सेर केन्द्रीय कमिटीमा सक्षमभन्दा आफ्ना मान्छे राखिएको भन्दै सिंगो जिल्ला समिति नै एमालेमा समाहित भएको हो ।
बागलुङका नेताहरूसँग महाधिवेशनकै क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल चिढिएका थिए । बागलुङका अधिकांश नेता अहिलेका महासचिव घनश्याम भुसाललाई नेतृत्वमा लग्न चाहन्थे । तर, माधव नेपाल नै नेतृत्वमा आएपछि उनीहरू असन्तुष्टि भएका त थिए नै उनीहरूसँग अध्यक्ष नेपाल पनि कड्किएका थिए । त्यसपछि पार्टी नेतृत्वले बागलुङलाई हेर्ने नजर नै फेरियो ।
‘महाधिवेशनबाट केही गर्न सकौँला की नयाँ तन दिने हिसाबले, रक्तसञ्चार गराउने हिसाबले हामीले महासचिव कमरेडलाई अनुहार बदलिँदा जनतामा आशा सिर्जना हुन्छ अब नेतृत्व तपाईँले नै गर्नुपर्छ है भन्यौँ । तर, परिस्थिति घनश्याम कमरेड अगाडी बढ्ने अवस्था बनेन । पुरानै नेतृत्व आउने स्थिति बन्यो । त्यसले हाम्रो ठुलो अपेक्षामा तुसारापात गर्ने काम भयो,’ एस छोडेर एमाले फर्किएएक नेताले बताए ।
केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज श्रीप्रसाद शर्मासहितका नेता पदाधिकारी निर्वाचनमा सहभागी भएर फर्किए लगतै नेकपा एस बागलुङले पुनः अर्को निर्णय गर्यो । त्यो निर्णय भने पार्टी नेतृत्वप्रतिको असन्तुष्टि थिएन । जिल्ला कमिटीलाई नै एमालेमा समाहित गराउने निर्णय थियो । विद्रोहको तात्त्विक फरक हुन नसक्दा पुनः एमालेमै फर्कने स्थिति बनेको शर्मा बताउँछन् ।
नेकपा एस बागलुङ इन्चार्ज शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापासहित उपाध्यक्ष, सचिव, उपसचिवसहित सबै कमिटी बिहीबार एमालेमा समाहित भएको घोषणा गरे । उनीहरूले एकीकृत समाजवादीको माइन्यूट एमालेलाई बुझाए ।