रसुवागढी र सान्जेनको आईपिओ बाँडफांड आज, तपाईको भागमा कति कित्ता ?
काठमाडौं – रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतले निष्काशन गरेको आईपिओ आज बाँडफांड हुने भएको छ । आज दिउँसो ३ बजे उर्जा मन्त्रालयमा दुवै कम्पनीको आईपिओ एक साथ बाँडफांड हुने भएको हो ।
दुवै कम्पनीले बैशाख ६ गते आईपिओ निष्काशन गरेका थिए । शेयर बाँडफांड हुने समय भएसंगै लगानीकर्तामा कति कित्ता शेयर पर्छ भन्ने बारेको उत्सुकता थपिएको छ ।
रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको थियो। यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन ।
कम्पनीको आईपिओमा करिब ३ लाख ७ हजार ७५ आवेदकबाट १ करोड ७६ लाख ४५ हजार २ सय १० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा १.८८ गुणा बढी आवेदन हो । माग भन्दा बढी आवेंदन परेकोले सबै आवेदकले माग गरे जति शेयर नपाउने निश्चित छ । तर १० कित्तादेखि ३० कित्तासम्मको लागि आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाउने देखिएको छ ।
त्यस्तै ४० कित्ता वा सो भन्दा माथिको लागि आवेदन दिएका मध्येबाट केहिले ४० कित्ता शेयर पाउने सम्भावना छ । ४० वा सो भन्दा बढीको लागि आवेदन दिएका सबै आवेदकले ४० कित्ता शेयर नपाउँन सक्छन । यद्यपि १० कित्ताको लागि आवेदन दिनेले १० कित्ता , २० कित्ताको लागि आवेदन दिनेले २० कित्ता र ३० कित्ताको लागि आवेदन दिनेले ३० कित्ता नै शेयर पाउने निश्चित छ। सो भन्दा बढीको लागि आवेदन दिएको हकमा गोलाप्रथाबाट शेयर बाँडफांड हुने देखिन्छ । यस हिसाबमा लगानीकर्ताले ४० कित्तासम्म शेयर पाउने सम्भावना छ ।
त्यस्तै सान्जेंन जलविद्युतले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकि रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।
कम्पनीको आईपिओमा करिब ३ लाख ४ हजार ६९ निवेदकबाट १ करोड ४१ लाख ३२ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा २.८३ गुणा बढीको आवेदन हो । माग भन्दा बढी आवेंदन परेकोले सबै आवेदकले माग गरे जति शेयर नपाउने निश्चित छ । तर सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाउने भने निश्चित छ। त्यसपछि २० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिएका मध्ये अधिकांशले २० कित्तासम्म शेयर पाउने सम्भावना देखिन्छ ।