कहिले हुन्छ भीम रावलको एकीकृत समाजवादीमा प्रवेश ?, यस्तो भन्छन् नेताहरु
काठमाडौं – नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावललाई पार्टीमा भित्र्याउन छलफल थालेको छ । आफ्नै नेता कार्याकर्ताहरुले एकपछि अर्को गर्दै पार्टी छाड्ने क्रम चलिरहेका बेलामा एमालेबाट असन्तुष्ट नेताहरुलाई पार्टीमा ल्याउनेगरी नेकपा एसले छलफल थालेको हो ।
अध्यक्ष माधव नेपालसहित नेकपा एसका शीर्ष नेताहरुले भीम रावलसँगै नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमलाई पनि पार्टीमा ल्याउन छलफल चलाएको श्रोतको दावि छ । दुई नेतालाई पार्टीमा भित्र्याउनेगरी छलफल चलिरहेको नेकपा एसका सचिव सोमप्रसाद पाण्डे बताउँछन् । केही अघिदेखि छलफल चलेको भए पनि अहिलेसम्म घनीभूत रूपमा छलफल नभएको उनको भनाइ छ ।
उनले भने, ‘वामदेव गौतमले चाहिँ केही पदीय जिम्मेवारी पनि पाए हुन्थ्यो भन्नुभएको थियो । त्यो त अब सम्भावना छैन । अरु थप छलफल भएको छैन । हामी वाम एकताको निम्ति छलफल चलाइरहेका छौं ।’ अध्यक्ष नेपालसँगको भेटमा वामदेवले आफूलाई वरिष्ठ उपाध्यक्ष दिए प्रवेश गर्न तयार रहेको बताएका थिए, तर अहिले पार्टीको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन् ।
एमालेमा फर्किन गौतमले धेरै प्रयास गरे पनि केपी ओली र महासचिव शंकर पोखरेलबाट सकारात्मक जवाफ नपाएपछि विकल्पमा नेकपा एसमा जान चाहेका छन् । १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग भिडेपछि धकेलेर डिलमा पुर्याइएका भीम रावललाई भने जिम्मेवारी दिन कुनै हिचकिचाहट नभएको पाण्डेको भनाइ छ ।
उनले भने, ‘उहाँ (भीम रावल) लाई ठाउँ दिन हामीलाई कुनै हिचकिचाहट छैन । कुनै समस्या छैन । उहाँले कस्तो खालको जिम्मेवारी लिने भन्ने उहाँको पनि प्रस्ताव आउनुपर्यो ।’ रावललाई नेकपा एसले महाधिवेशन अघि नै रोजेको पद दिन तयार भएको सन्देश पठाउँदासमेत अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । उनको लागि एमाले नेतृत्वबाट पार्टीमा ढोका बन्द रहेको अनौपचारिक सन्देश पाए पनि अहिलेसम्म पार्टी छाड्नेबारे निर्णय नगरेको बताउँदै आएका छन् । उनी उपयुक्त समयमा आफूले आगामी कदम चाल्ने तर्क गरिरहेका छन् ।
नेता रावल र वामदेवलाई पार्टीमा भित्र्याउन सके पार्टी संगठन बलियो बनाउन सकिने नेकपा एसको बुझाइ छ । एकता अभियानको नाममा गौतमले खडा गरेको संगठन र नेता रावलको सुदूरपश्चिममा बलियो पकड रहेकाले माधव नेपालले पनि प्रयास जारी राखेका छन् । उनले वाम एकताको लागि विप्लव, नारायणमान बिजुक्छे, मोहनविक्रम सिंह, मोहन वैद्य, सीपी मैनालीसँग पनि पछिल्लो समय छलफल गरिरहेका छन्, तर नेकपा माओवादी केन्द्रसँग केही समयअघि पार्टी एकताको चर्चा चले पनि अहिले कुनै सम्भावना नभएको नेताहरुले बताउँदै आएका छन् । नेकपा एसले अहिले समाजवादी मोर्चालाई नै अगाडि बढाउन चाहेको बताउँदै आएका छन् ।