माधव नेपालबिरुद्ध फेरि खनिए ओली, सार्वजनिक कार्यक्रमै लगाए गम्भीर आरोप

बुधबार, २६ भाद्र २०८१

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको टिप्पणी गरेका छन् । बुधबार स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले बताएको पुष्पलाल प्रतिष्ठान नीजी सम्पत्तिजस्तो गरेको टिप्पणी गरेका हुन् ।

पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म नछोडेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने धारणा राखे ।

‘नेताका नाममा प्रतिष्ठान हुने, त्यो प्रतिष्ठान देशका लागि नहुने, पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । खेलोफड्को गर्दै माधव नेपालजस्ता मान्छेहरु अध्यक्ष भए । पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी सम्पत्तिजस्तो । पुष्पलालजी फुट्नु भएको हो र रु पार्टीबाट माधव नेपाल पो फुटेको त । पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने रु’ उनले प्रश्न गरे । साथै, स्वर्गीय सुवास नेम्वाङको नाममा पनि प्रतिष्ठान बनाउने उनले उद्घोष गरे । उनले सुवास नेम्वाङको स्मृतिलाई ताजा राख्न र उनका आदर्शहरुलाई पछ्याउन प्रतिष्ठान आवश्यक रहेको बताए ।