उपसभामुखलाई महाअभियोग लगाउने अन्तिम तयारी, कांग्रेसले गर्यो यस्तो परिपत्र
काठमाडौं – सत्तरुढ दलहरु प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा रानामगरलाई महाअभियान लगाउने अन्तिम तयारीमा पुगेका छन् । सरकारमा रहेको कांग्रेस र एमालेले उपसभामुख रानालाई महाअभियोग दर्ता गर्ने अन्तिम तयारी गरेका हुन् ।
नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।
त्यसअघि सोमबार सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको विषयमा प्रश्न उठाएका थिए । उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् । त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन् ।
उपसभामुख संवैधानिक परिषदको सदस्य हुने संवैधानिक व्यवस्था छ । परिषदमा प्रधानमन्त्री अध्यक्ष र सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रधानन्याधीश र प्रमुख प्रतिपक्ष दलको नेता सदस्य रहने व्यवस्था छ । परिषदमा बहुमत नहुँदा प्रधानमन्त्रीले बैठक बोलाउन सकेका छैनन् । प्रधानन्याधीश नियुक्तीका लागि बोलाउनु पर्ने बैठक नबोलाउन प्रधानन्याधीश नियुक्तमा ढिलाई भएको छ ।
उपसभामुखलाई महाअभियागबाट हटाएर कांग्रेसबाट उपसभामुख बनाई परिषदमा बहुमत बनाउने कांग्रेस–एमालेको योजना छ । परिषदमा बहुमत हुँदै प्रधानन्याधीशको रोलक्रमलाई मिचेर आफू निकटका न्यायाधीशलाई प्रधानन्याधीश बनाउने ओलीको योजना छ । ओलीले न्यायाधीश सपना प्रधान मल्लालाई प्रधानन्यायाधीश बनाउन चाहेका छन् ।