यी हुन् सहकारी ठगीमा रविलाई दोषी देखाउने आधारहरु
काठमाडौं – संसदीय छानविन समितिले सहकारीको रकम हिनामिनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको छ । समितिले तीन महिना लामो अनुसन्धानपछि तयार पारेको संसदमा पेस गरेको प्रतिवेदनमा रविलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको हो ।
देशभर सहकारीको सञ्जाल खडा गरी रकम हिनामिना गर्ने जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक हुन्, लामिछाने । विभिन्न सहकारीबाट उक्त कम्पनीमा आएको रकम खर्च गर्ने प्रक्रियामा उनको संलग्नता समितिले ठहर्याएको छ ।
सहकारीबाट गोर्खा मिडियामा ल्याइएको कराडौँ रकम खर्च गर्नमा लामिछानेको प्रमुख भूमिका रहेको पाइएको समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए । गोर्खा मिडियाको प्रवन्ध निर्देशक रहुन्जेल उनले विभिन्न सहकारीबाट ल्याइएको ६५ करोड कारोबार गरेको खुलेको छ ।
‘विभिन्न सहकारीबाट गोर्खा मिडियामा जे जति पैसा आयो, त्यो सबै जिबी राईमार्फत आएको छ । जिबीले नै फरक(फरक समयमा गोर्खा मिडियाको बैंक खाता, रविजी र छविलालजीको बैंक खातामा पैसा ट्रान्सफर गरेको पाइएको छ’, दाहालले भने, ‘र गोर्खा मिडियामा आएको पैसालाई परिचालन गर्ने, प्रयोग गर्ने काममा चाहिँ रविजीको मुख्य भूमिका देखिएको छ । यसमा हामीले जिबीले गरेको गल्ती र रविजीको गल्तीलाई फरक–फरक प्रकृतिको कारवाही हुनुपर्छ भन्ने प्रतिवेदन तयार पारेका छौ ।’
गोर्खा मिडियाभित्र भएको आर्थिक कारोबार पनि नियमपूर्वक नदेखिएको दाहालले बताएका छन् । त्यसमा पनि लामिछाने नै दोषी देखिएको उनको भनाइ छ । ‘विभिन्न तथ्य र प्रमाणहरुले गोर्खा मिडियाभित्रको आर्थिक कारोबार पनि नियमसम्बद्ध देखिदैन । विभिन्न बैंकका चेक, हस्ताक्षर, डिपोजिट भौचर रसिद, शेयर लेनदेन लगायतका कामहरु कानूनी ढंगले भएको छैन’, उनले भने ।
समितिले गोर्खा मिडियामा रविकै भाषामा उनले प्राप्त गरेको ‘स्वेट शेयर’को वैधानिकतामाथि पनि प्रश्न उठाएको छ ।