भोटेकोशीमा खसेको गाडी चालक सुनकोशीमा मृत भेटिए

मंगलबार, १ असोज २०८१

काठमाडौँ -भोटेकोशीमा बोलेरो गाडी खसेर बेपत्ता भएका चालकको शव भेटिएको छ। सोमबार साँझ सिन्धुली फिक्कल गाउँपालिका-६ सोखुखोला स्थित सुनकोशी नदीमा चालक ३५ वर्षीय सानु तामाङको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका हुन् ।

पोस्टमर्टमका लागि शव धुलिखेल अस्पताल पठाइएको छ, ‘डिएसपी थापाले भने, ‘खोजी कार्यको लागि ४ गोताखोरसहित ९ जनाको टोली खटिएको थियो।शुक्रबार दिउँसो बा २० च २१८५ नम्बरको बोलेरो गाडी बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको थियो। बोलेरो गाडीमा सवार बाह्रबिसे नगरपालिका-९ की ३६ वर्षीया सुन्तली भनिने सुनिता तामाङको शव शनिबार भेटिएको थियो।

उनको शव सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका- ६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै फेला परेको हो।