एक वर्षमा रास्वपाले सक्यो साढे ५ करोड, पाइलट प्रोजेक्टका लागि ८८ लाख खर्च
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा पार्टी सञ्चालन गर्न साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा पेस गरिएको आय–व्ययको विवरण अनुसार एक वर्षमा पार्टीले ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको हो ।
जसअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । यस्तै पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ ।
खर्च विवरणअनुसार कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा नै झन्डै १७ लाख खर्च भएको छ । प्रतिवेदनमा चिया तथा खाजा शीर्षकमा १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको उल्लेख छ । एक वर्षमा रास्वपाले आम्दानी भने ३ करोड ४० लाखमात्रै गरेको छ ।
कार्यालय खर्च अन्तरगत चितवनमा चलेको पार्टी पाइलट प्रोजेक्ट ८८ लाख रुपैयाँ खर्च भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रमा यो रकम खर्च भएको हो ।