बुद्ध एयरका शेयरधनी दाजुभाइको विवाद छताछुल्ल

मंगलबार, १ असोज २०८१

काठमाडौँ – बुद्ध एयरका लगानीकर्ता दाजुभाइको विवाद सतहमा छताछुल्ल भएको छ  छ । कार्यकारी अध्यक्षसमेत रहेका वीरेन्द्रबहादुर बस्नेत समूहले शिवेन्द्रबहादुर बस्नेत समूहलाई बुद्ध एयरका सुविधाबाट कटौती गर्न थापेपछि उनीहरुको विवाद सतहमा छताछुल्ल भएको हो । बस्नेत दाजुभाइबीच विगत एक वर्षदेखि बुद्ध एयरको सम्पत्ति विवाद छ । उक्त विवाद उत्कर्षतिर लागेपछि भाइ शिवेन्द्रबहादुर समूह सुविधाबाट वञ्चित हुन थालेको हो ।

वीरेन्द्रबहादुर समूहले शेयर सदस्य अर्चना बस्नेतलाई हवाई टिकट नै नदिएको पाइएको छ । शेयर सदस्यको हैसियतमा बुद्ध एयरबाट अर्चना २ असोजमा काठमाडौंबाट विराटनगर जाने तयारीमा थिइन् । २ असोजको बिहान पहिलो उडानबाट विराटनगर गई सोही दिनको अन्तिम उडानबाट काठमाडौं आउने गरी टिकट उपलब्ध गराउन निवेदन दिएकी थिइन् ।

बुद्ध एयरको सेल्स एन्ड मार्केटिङ विभागका निर्देशकलाई सम्बोधन गरी अर्चनाले १ असोज अर्थात् आज निवेदन दिएकी थिइन् । उनले निवेदनमा २५ प्रतिशतको शेयरधनीको हैसियतमा सहुलियतको टिकट उपलब्ध गराइदिन आग्रह गरेकी थिइन् । तर, बुद्ध एयरले उनलाई टिकट नदिने निर्णय सुनाएको थियो । अर्चनाले बुद्ध एयरको टिकट नपाएपछि विकल्प खोजेर विराटनगर जाने तयारी गरेकी छन् ।

अर्चना वीरेन्द्रबहादुरका भाइ शिवेन्द्रबहादुर बस्नेतकी श्रीमती हुन् । शिवेन्द्रबहादुरको परिवारसँग बुद्ध एयरको ४० प्रतिशत शेयर छ ।