क्यानडा पठाइदिने भन्दै १८ लाख कुम्ल्याएर फरार एकजना पक्राउ
काठमाडौँ – वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका हुन् ।
आचार्यले आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको आचार्यले बताए। उनलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले भनाई छ ।