रवि लामिछानेविरुद्ध आकस्मिक पक्राउ पुर्जी जारी, पार्टी कार्यालयमा भिडभाड

आइतबार, ६ असोज २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेरिुद्ध कास्की प्रहरीले आकस्मिक पक्राउ पुर्जी जारी गरेको छ । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न आकस्मिक पक्राउ पुर्जी जारी गरेको हो ।

जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो । सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिएलगत्तै प्रहरीले छविलाल जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ ।

रविलाई पनि आजै पक्राउ गर्नेगरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ । लामिछाने भने पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन् ।

अदालतबाट पक्राउ पुर्जी आउनभन्दा अघि नै प्रहरीले आकस्मिक पक्राउ पुर्जी लिएर पक्राउ गर्ने तयारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी आउनभन्दा अगाडि नै अपराधिलाई पक्राउ गर्नुपरेमा आकस्मिक पक्राउ पुर्जी जारी गर्ने गरिन्छ । रवि पनि भाग्नसक्ने आशंकामा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

श्रोतले दिएका जानकारी अनुसार जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट समेत सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको श्रोतको दावि छ । गोर्खा मिडिया नेट्वर्कका अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि प्रहरीले काठमाडौंको शंखमूलबाट जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको थियो ।