जे–सर्टको विश्वसनीयतामाथि जापानीज दूतावासको प्रश्न, विद्यार्थीलाई बोलाएर लिन थाल्यो अन्तरवार्ता
काठमाडौं – जापानीज भाषा परीक्षाका रुपमा नेपालमा संचालित सर्टिफिकेट अफ जापानीज एज फरेन ल्याङ्वेयज (जे–सर्ट)को विश्वसनीयतामाथि जापानीज दूतावासले समेत प्रश्न उठाएको छ । परीक्षा संचालन गर्दा विद्यार्थीमाथि भेदभाव गरेको, प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको, नतिजा प्रकाशनमा धाधली गरेको लगायतका कारण देखाउँदै दूतावासले जे–सर्टको विश्वसनीयतामाथि प्रश्न उठाएको हो ।
जे–सर्टको परीक्षामाथि विश्वसनीयता गुमेपछि भिसा आवेदनका लागि जे–सर्टको सर्टिफिकेट पेश गरेका विद्यार्थीलाई दूतावासले अन्तरवार्ताका लागि बोलाएको छ । जापानीज दूतावास श्रोतका अनुसार जे–सर्टको परीक्षा केन्द्रका आधारमा विद्यार्थीलाई अन्तरवार्ताका लागि बोलाइएको छ । ‘इटहरी, चितवन, बुटवल, दाङ लगायतका परीक्षा केन्द्रमा सहभागी विद्यार्थीलाई अन्तरवार्ताका लागि अपवादबाहेक अनिवार्य बोलाइएको छ ।’, दूतावास श्रोतले भन्यो, ‘जे–सर्ट हाम्रो उच्च निगरानीमा छ । भाषा परीक्षाका नाममा बदमासी भएपछि अरु केन्द्रको परीक्षामा सहभागी विद्यार्थीलाई पनि अन्तरवार्ताका लागि बोलाएका छौं । अन्तरवार्तामा बोलाएका अधिकांश विद्यार्थीको भाषामा समस्या छ ।’
दूतावासले जे–सर्ट बाहेकको परीक्षा पास गरेका विद्यार्थीलाई पनि अन्तरवार्ताका लागि बोलाएको जनाएको छ । ‘हामीले जे–सर्टबाहेकका विद्यार्थीलाई पनि अन्तरवार्तामा बोलाएका छौं ।’, दूतावास श्रोतले भन्यो, ‘तर अरु विद्यार्थीको शंकाको आधारमा बोलाउने गरिएको छ । भाषा परीक्षामा धेरै नम्बर ल्याएका, सबैमा बराबर नम्बर ल्याएका र अरु हिसावले शंका लागेका विद्यार्थीलाई अन्तरवार्तामा बोलाउने गरिएको छ । यसका लागि हामीले बाहिरबाट जनशक्ति हायर गरेर काम गरिरहेका छौं ।’ दूतावासले सामान्य हिरागाना, काताकाना र खान्जी सोध्ने गरेको छ भने केही सामान्य बोलिचालिका विषयमा प्रश्न गर्ने गरेको श्रोतको दाबी छ ।
यसरी जे–सर्टप्रति विश्वास घट्नुको मुख्य कारण परीक्षा संचालनमा देखिएको अपरिपक्कता हो । नेपालमा ८ वटा जापानीज भाषा परीक्षा संचालन भएकोमा सबै परीक्षा निर्धारित समयमा नै हुने गरेका छन् तर जे–सर्टको परीक्षा निर्धारित समयमा हुँदैन । निर्धारित समयमा परीक्षा नहुँदा प्रश्नपत्र लिक हुने, उत्तर पुस्तिका जाँचमा चलखेल हुने र नतिजा प्रकाशनमा समेत ढिलाई हुने भएकाले यसप्रतिको विश्वास घटेको दूतावास श्रोतको भनाई छ ।
यसअघि अगस्ट ३१ तारिखमा भएको परीक्षाको प्रश्नपत्र बाहिरिएको थियो । ३१ तारिखमा भएको परीक्षा सेप्टेम्बर ७ तारिखमा हुनपर्ने थियो । पूर्व निधारित तालिका अनुसार अटस्ट २३ तारिखभित्र आवेदन दिएर सेप्टेम्बर ७ मा परीक्षा हुनुपर्ने हो तर १ हप्ता अगाडि परीक्षा सारेर पुरानो तालिका अनुसार फारम भर्न भनेर बसेका विद्यार्थी परीक्षा दिनबाट बन्चित भएका थिए । त्यही परीक्षाबाट जे–सर्टको विश्वसनीयतामा प्रश्न उठेको हो ।
त्यस्तै जे–सर्टले नोबेम्बर २ तारिखमा हुनुपर्ने परीक्षा एक हप्ता अगाडि सारेर अक्टोबर २६ तारिखमा गर्दैछ । श्रोतले दिएको जानकारी अनुसार जे–सर्ट परीक्षा संचालकहरुले आफ्नो कन्सल्टेन्सीमा भएका विद्यार्थीलाई अनुकुलता हुनेगरी परीक्षाको मिति तय गर्ने गरेका छन् । जे–सर्टले भने नेपालका चार्डपर्व अनुसार कहिलेकाँही परीक्षाको समय तालिका संशोधन गर्न परेको जनाएको छ । जे–सर्टका संचालक महेश श्रेष्ठले आगामी नोवेम्बर २ तारिखमा हुनुपर्ने परीक्षा तिहार परेकाले अगाडि सारेको बताए । अगस्टको पनि तालिका संशोधन भएको थियो नि भन्ने मोटिभेटको प्रश्नमा उनले कुनै जवाफ दिएनन् ।
उनले निर्धारण गरेको परीक्षा तालिका मोटिभेट न्यूजको प्रश्नपछि संशोधन भएको छ । केहिदिन अघिसम्म पुरानो तालिका रहेको जे–सर्टको वेवसाइडमा अहिले नयाँ तालिका राखिएको छ । सो ताालिकामा परीक्षाको मिति संशोधन गरिएको प्रस्ट देख्न सकिन्छ । बर्षमा २५ देखि ३० हजार विद्यार्थीको परीक्षा लिने जे–सर्टले परीक्षा तालिका बनाउँदा क्यालेण्डरसमेत नहेरेर बनाएको पाइएपछि उनीहरु कति अपरिपक्क रहेछन् भन्ने प्रमाणित भएको छ ।
यता, प्रश्नपत्र बाहिरिएपछि अनुसन्धान गर्न गठित नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को छानविन समितिले समेत जे–सर्टको परीक्षाका विश्वसनीयता नभएको जनाएको छ । इक्यानले केन्द्रीय सचिव रत्न भट्टराईको नेतृत्वमा कोषाध्यक्ष आशिक कार्की र कार्यसमिति सदस्य सुरज सिलवाल रहेको ३ सदस्यीय छानविन समितिले बनाएको थियो । सो समितिले जे–सर्टको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । प्रतिवेदन लेखनको क्रममा रहेको समितिले जे–सर्टका ८ परीक्षा केन्द्रमा परीक्षा संचालन गर्दा कसै न कसैले विश्वासघात गर्ने गरेको निश्कर्ष निकालेको छ । समितिले केही दिनमा इक्यान बोर्डलाई प्रतिवेदन बुझाउने मोटिभेट न्यूजको सम्पर्कमा आएका एक सदस्यले बताए ।