पानि बाराबारको स्थितिमा पुगेका रेशम-रञ्जिताबीच बल्ल मिल्यो कुरा
काठमाडौं – लामो समयदेखि आन्तरिक विवादमा फसेको सत्तारुढ पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा तत्कालका लागि संकट टर्ने देखिएको छ । पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पूर्व सांसद एवं संरक्षक रेशमलाल चौधरीबीच भद्र सहमति भएसँगै पार्टीको लफडा समाधानन्मुख भएको हो ।
रेशम र रञ्जिता श्रीमान-श्रीमती हुन् । तर,यी दुईबीच लामो समयदेखि पानी बारबारको स्थिति बनेको छ । अबभने दुईबीच नयाँ निर्वाचित पदाधिकारी सहितको संयुक्त बैठक बोलाउने समझदारी बनेको छ । असोज १८ र १९ गते काठमाडौंमा बैठक बोलाउने दुईबीच भद्र सहमति बनेको हो ।सोही सहमति अनुसार बैठकका लागि सबै नेता कार्यकर्तालाई पत्रसमेत पठाईएको छ ।
‘उपरोक्त सम्बन्धमा हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी ‘हामी एक हौं र एक रहनेछौं’ भन्ने सन्देश सबैमाझ छर्दै हाम्रो पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतिमा काठमाडौंमा बस्ने हुँदा अनिवार्य उपस्थितिको लागि यो पत्र प्रेषित गरिएको छ,’ पत्रमा भनिएको छ।