विदेशबाट घर आएका श्रीमान्‌ले गरे श्रीमतीको हत्या

बिहिबार, १० असोज २०८१

वीरगन्ज – सर्लाहीमा एक युवाले गोली हानेर आफ्नो श्रीमती हत्या गरेका छन् । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे आफ्नै श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने बुवा घाइते भएका छन् । छोराले गोली चलाउँदा ५४ वर्षीय बुवा रामदिनेश राय घाइते हुन् ।

सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

किन हत्या ?

श्रीमान् कामको सिलसिलामा विदेशमा बसिरहेका थिए । करिब एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए । विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्केका थिए । सर्लाही प्रहरीका अनुसार घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राती अचानक घरमा आए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठिक नभएको पाइएको छ । प्रहरी प्रवक्ता श्रेष्ठ भन्छन्, ‘ऊ राती साढे १२ बजे घर आयो, अन्य २ जना व्यक्ति पनि ऊसँगै मोटरसाइकलमा आएका थिए । त्यसपछि श्रीमतीलाई हिर्काउन थाल्यो, अचानक श्रीमतीलाई कुटपिट गर्न थालेपछि भाउजूले देखिन । अनि उनी गएर ससुराबुवालाई खबर गरिन, लगत्तै बुवा पनि आए । तर त्यहाँ आपसी सम्बन्ध ठिक नरहेकोले आक्रोशित श्रीमानले सुरुमा श्रीमतीमाथि गोली हान्यो, त्यसपछि बुवालाई पनि गोली चलाएर घाइते बनायो ।’

घटनास्थल हरिपुर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटरको दुरीमा छ । गोली हान्ने व्यक्तिको खोजीका लागि व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ ।