पहिरोमा परि बेपत्ता ३ जना खेलाडीको शव भेटियो, ३ जना अझै बेपत्ता

शनिबार, १२ असोज २०८१

काठमाडौँ – पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ।

उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए। कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरू बेपत्ता भएका थिए।

त्यसअघि मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना खेलाडी बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परी बेपत्ता भएका थिए।