बर्सातका कारण रोकिएको ‘इक्यान फेयर’ असोज १६ गते हुने
काठमाडौं – काठमाडौंसहित देशभर परेको अविरल बर्षाका कारण रोकिएको इक्यान फेयर (शैक्षिक मेला) आगामी असोज १६ गते बुधबार हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले असोज १३ गतेका लागि तय गरेर स्थगित भएको विदेश अध्ययन सम्बन्धी शैक्षिक मेला १६ गते हुने भएको हो ।
इक्यानका महासचिव दीपकराज भुसालले आइतबार एक विज्ञप्ति जारी गर्दै स्थगित भएको शैक्षिक मेला १६ गते हुने बताए । ‘उपत्यका लगायत देशैभरि परेको अविरल बर्षाका कारण काबु बाहिरको परिस्थिति उब्जिएकोले मिति २०८१–०६–१३ गते आयोजना गर्ने भनिएको शैक्षिक मेला सोहि मितिमा आयोजना गर्न नसकिएको र सोहि शैक्षिक मेला यहि २०८१–०६–१६ गते आयोजना गर्ने भनि निर्णय भएको हुँदा सम्बन्धित सवैको लागि यो सुचना सम्प्रेषण गरिएको छ ।’, भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नयाँ बानेश्वर स्थित होटेल एभरेष्टमा आयोजना हुने शैक्षिक मेला विहान साढे ९ बजेबाट सुरु हुनेछ । मेला सोही दिन बेलुका समापन हुने इक्यानले जनाएको छ ।
फेयरमा अस्ट्रेलिया, न्यजिल्याण्ड, बेलायत, अमेरिका, क्यानडा लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीले भ्रमण गर्न सक्नेछन् । फेयरका विश्वका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिको सहभागिता हुनेछ ।