भोली र पर्सी निरन्तर झरी पर्ने, यी प्रदेशमा छ खतरा
काठमाडौं – बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने भएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ । वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने महाशाखाको भनाई छ ।
असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
वर्षा पूर्वानुमानमा प्रयोग हुने विभिन्न मोडेलहरु छन् । बुधबारदेखि सुरु हुने वर्षाबारे युरोपियन, चाइनिज र इण्डिन मोडेलले फरक–फरक सम्भावना देखाएका छन् । ती तीनवटै मोडेलबाट हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने साझा निष्कर्ष निकाल्न सकिन्छ ।
चाइनाको मोडेलले हल्का खालको वर्षा हुने सम्भावना देखाएको छ । युरोपियन मोडेलले भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखाएको छ । भारत मौसम विज्ञान विभागले आसाम, मेघालयतिर भारी वर्षा भइरहेको देखाएको छ । इण्डियन स्याटेलाइट तस्वीरमा कोशी प्रदेशमा बादलको ठूलो ढिक्का आइसकेको देखिन्छ ।
यसको अर्थ कोशी प्रदेशमा आजैदेखि वर्षाको प्रभाव देखिन थालिसकेको छ । यसको प्रभाव काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि पनि देखिनसक्ने सम्भावना छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेल यो वर्षाले बुधबारदेखि कोशीदेखि गण्डकीसम्म प्रभाव पर्नसक्ने बताउँछन् । उनका अनुसार कोशी प्रदेशसहित पूर्वी नेपालमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा भने पानी पर्दै रोकिँदै गर्ने सम्भावना रहेको उनले बताए ।