अनावश्यक अमेरिका किन बसेको ? भन्दै ओलीसँग देउवा रिसाए
काठमाडौं – अविरल वर्षाको कारण बाढी तथा पहिरोले ठूलो जनधनको क्षति हुँदापनि राहत तथा उद्धार कार्यमा सरकारको उदासिनता देखिएको भन्दै नेपाली कांग्रेसको नेतृत्व असन्तुष्ट बनेको छ।
मुलुक राष्ट्रिय विपत्तिमा रहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली अनावश्यक रूपमा आफ्नो बसाई लम्ब्याएर अमेरिकामा बसेकोमा कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित छन् ।
उनले आफूनिकट नेताहरुसँग प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गरेका हुन् । संयुक्त राष्ट्रसंघको महत्वपूर्ण सत्रमा भाग लिईसकेपछि मुलुकमा परेको अप्ठ्यारोलाई हेरेर स्वदेश फर्किनुपर्नेमा अनावश्यक रुपमा हल्काफुल्का कार्यक्रममा दिन बिताएर राष्ट्रिय विपत्तिलाई बेवास्ता गरेको देउवाको गुनासो छ ।
उनले प्रधानमन्त्री ओली जनताको पीडामा गम्भीर नबनेको निश्कर्ष निकालेका छन् । जनस्तरबाटै सरकार नभएको गुनासो आएपछि कांग्रेसका अर्का प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि सरकारको आलोचना गरेका थिए । उनले आफूले यत्रो विपत्तिमा सरकार नभेटेको भनेर सार्वजनिक रुपमै टिप्पणी गरेका थिए ।