दशैँमा घर फर्किन लागेका यात्रुहरुलाई खुशीको खबर, यी रुटमा पैरो खसिहाले पनि फरक नपर्ने

बिहिबार, १७ असोज २०८१

काठमाडौँ – आज घटस्थापना। दसैं सुरू भएसँगै काठमाडौं उपत्यका छाडेर बाहिरिनेहरूको बसपाकर्कमा भिड लाग्न थालेको छ। गत साता परेको वर्षाका कारण त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बिपी राजमार्ग लगायतमा क्षति पुगेको छ। सडकहरू सरकारले मर्मत गर्ने बताइरहेको छ।

बिपी राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारी चाप बढ्दो छ। सरकारले बाढीपहिरोका कारण अवरूद्ध सडक खुलाएर दसैँमा नागरिहरूलाई निर्वाध रूपमा घर घर जाने वातावरण सिर्जना गर्ने भनेको छ। काठमाडौंको नागढुंगा नाका हुँदै बाहिरिने सवारी साधन बढेकाले नागढुंगादेखि चितवनको मुग्लिन(नारायणगढसम्मै सवारी चाप छ।

प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले नागढुंगा-नौबिसे खण्डमा अहिले निर्वाध रूपमा सवारी साधन दुईतर्फी नै सञ्चालनमा रहेको बताए। झ्याप्ले खोलाको पहिरो पन्छाइसकेपछि दुईतर्फी नै यातायात सञ्चालन भएको र बाटोमा कुनै पनि किसिमको अवरोध नरहेको उनले बताए।

सडकमा केही अवरोध आइहालेको खण्डमा पहिरो पन्छाइहाल्ने गरी व्यवस्था गरिएको पनि उनले बताए। सडक आयोजनादेखि स्थानीय तहसँग समन्वय गरी जेसिबीलगायत ठाउँ(ठाउँमा राखेका छौं। पहिरो खसिहाले तत्काल पन्छाउँछौं, ‘उनले भने। त्यस्तै ठाउँ-ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको र खतरा रहेका ठाउँहरूमा ट्राफिक चिह्नहरू राखिएको उनले जानकारी दिए। ‘उताबाट आएका र यताबाट गएका गाडीहरू निर्वाध रूपले सञ्चालन भइरहेका छन्,’ उनले भने।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले धादिङतर्फको राजमार्गमा बिहीबार दिउँसो १ बजेसम्म कुनै पनि किसिमको अवरोध नरहेको बताए। उनले सानातिना पहिराले लामो समयसम्म जाममा बस्नुपर्ने स्थिति आउन नदिने गरी व्यवस्था मिलाइएको जानकारी दिए।’अवरोध भइहाल्यो भने पन्छाउनका लागि जेसिबीहरू तयारी अवस्थामा राखेका छौं। स्थानीय तहहरूसँग समन्वय गरिएको छ। प्रहरी युनिटहरू पनि खटिएका छन्, रोकेर बस्नुपर्ने अवस्था आउँदैन, ‘उनले भने।