स्वास्थ्य मन्त्रालयमै भेटियो डेङ्गी फैलाउने लामखुट्टे
काठमाडौँ – डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ । मन्त्रालयको वरिपरि यत्रतत्र रुपमा रहेका पुराना टायर, चर्के–फुटेका भाँडावर्तन, खाली बोतल, कवाडी सामग्री, भान्छाको फोहर आदि नहटाउँदा मन्त्रालयमै डेङ्गी सङ्क्रमणको जोखिम बढेको हो ।
मङ्गलबार अपरान्हपख मन्त्रालय परिसरमा पुग्दा पार्किस्थलको छेउमा रहेका साना टहराको चेपमा रहेका पुराना टायरमा सफा पानी जमेको देखिन्थ्यो । स्वास्थ्यकर्मीका अनुसार डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । पुराना टायर, ड्रम, खाली बट्टा, पुराना भाँडाकुँडालगायतमा रहेको सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको हो ।
तर, सिङ्गो गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको जिम्मा लिएको मन्त्रालय नै डेङ्गीको सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्नमा चुकेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट अलग्गिएर छुट्टै मन्त्रालयको अस्तित्वमा आएको स्वास्थ्य मन्त्रालय अहिले प्रदेश स्वास्थ्य निर्देशनालयको भवनबाट सञ्चालन भइरहेको छ । मन्त्रालयका भित्री कक्ष र कोठा सफा र चिटिक्क देखिएपछि बाहिरी परिसर भने अव्यस्थित देखिन्छ । मुख्य भवनको अगाडिपट्टि रहेको उद्यान पनि सरसरफाइ नहुँदा घाँसको झाडीले ढाकिएको छ ।
चमेनागृहबाट निस्कने फोहर पनि भवनको पछाडिपट्टि लगेर जथाभावी फाल्ने गरिएको भेटिएको छ । पत्रु परेका गाडी, फर्निचरलगायत सामग्री समयमा लिलाम नगरी भद्रगोल अवस्थामा राखिएको छ । पार्किङ परिसरमै थन्किएको मिनिट्रकभरि टायर, कार्पेटलगायत कवाडी सामान अलपत्र छाडिएको छ ।