विमानस्थलमा बम विस्फोट, ८० भन्दा बढी उडान रद्द
काठमाडौँ – दोस्रो विश्वयुद्ध ताकाको अमेरिकी बम एक जापानी विमानस्थलमा विस्फोट भएको छ। जमीनमुनि गाडिएको बम विस्फोट हुँदा ट्याक्सीवेमा एउता ठूलो खाल्डो भएको छ। जसकारण ८० भन्दा बढी उडान रद्द गर्नुपरेको जापानी अधिकारीले बताएका छन्।
जापानको भूमि तथा यातायात मन्त्रालयका अधिकारीले यस घटनामा कोही पनि घाइते नभएको जानकारी दिएका छन्। उनीहरूका अनुसार बुधबार जापानको दक्षिण-पश्चिमी क्षेत्रको मियाजाकी विमानस्थलमा बम विस्फोट हुँदा घटनास्थल नजीक कुनै विमान थिएन।
आत्मरक्षा दल र प्रहरीले गरेको घटनाको अनुसन्धान अनुसार उक्त विस्फोट ५०० पाउन्डको अमेरिकी बमबाट भएको हो। अधिकारीहरुले अहिले थप कुनै खतरा नभएको बताएका छन्।
दोस्रो विश्वयुद्धकालीन यो पुरानो बम अचानक किन विस्फोट भयो यसको कारण पत्ता लगाउने प्रयास जारी छ।