रविकै अगाडि ‘सहकारी ठग’ भन्दै स्थानीयले गरे नाराबाजी

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठग भन्दै नारा लागेको छ । रविकै निर्वाचन क्षेत्र रहेको चितवनको मुग्लिनमा स्थानीयले रविविरुद्ध सहकारी ठग भन्दै नारावाजी गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाईका लागि चितवनको इच्छाकामना गाउँपालिका पुगेका लामिछानेविरुद्ध नाराबाजी गर्न केही व्यक्ति कार्यक्रमस्थल पुगेका थिए । त्यहाँ उनीहरुले कालो झण्डासहित नाराबाजी गरेका थिए ।

आफूलाई सहकारी पीडित बताउने युवाहरुले रविको विरोध गरेका हुन् । एक स्थानीयका अनुसार लामिछाने कार्यक्रम सकेर भरतपुरतर्फ लाग्ने क्रममा उनीहरुले विरोधको गर्दै कालोझण्डा देखाएका थिए ।

आन्दोलनकर्ताहरुले विरोध प्रदर्शन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । रविले भने विरोध गर्नेहरु युवा संघका कार्यकर्ता भएको बताएका छन् ।