बाढी पीडितको पहिचान भएपछि सरकारले अस्थायी आवासका लागि रकम दिन्छ : गृहमन्त्री लेखक

आइतबार, २० असोज २०८१

काठमाडौं – गृहमन्त्री रमेश लेखकले स्थानीय तहलाई मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी तत्काल नाम उपलब्ध गराउन निर्देशन दिएका छन् ।

अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनसन तोडिसकेपछि बोल्दै उनले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने बताए ।

उनले भने, ‘हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेका छौं । चाँडोभन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको छ । तदनुरूप राहत दिने काम भइरहेको छ । घाइतेको स्वास्थ्य लाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेका छौं ।’

उनले ज्यादा नोक्सानी भएका ठाउँहरूमा विपद्बाट भएका नोक्सानीको सङ्कटग्रस्त क्षेत्र तोकेको भन्दै राज्यले सम्पूर्ण ध्यान उद्धार, राहत, पुनर्निर्माण, पुनःस्थापनामा रहेको बताए ।

गहृमन्त्री लेखकले थपे, ‘पूर्ण रुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने कुरा अघि बढेको छ । म सबै स्थानीय तहलाई के आग्रह गर्न चाहन्छु भने चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्छौं ।’