गाउँ नजिकै भेटियो टाउको बिनाको शव
नेपालगञ्ज – बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ। कोहलपुर नगरपालिका वडा नम्बर ८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको हो ।
बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार अनुसार आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको हो । सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव फेला परेको र थप अनुसन्धान भइरहेको बताए । प्रहरी निरीक्षक भटट्का अनुसार हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ।
‘जसले जे काम लगाउँछ सोही काम गरिदिने र सामान्य रुपमा जीवन यापन गर्दै आएका उनको वीभत्स हत्या भएको छ। हामी सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं,’ उनले बताए। दसैंको टीकाको दिन राति उनको हत्या भएको अनुमान प्रहरीले गरेको छ।
घटनास्थलदेखि झण्डै दुई सय मिटर टाढाको सिसी टिभी क्यामेराममा एक जना व्यक्तिले कालो पोलिथिनको झोला बोकेर हिँडिरहेको दृश्य फेला परेको छ।ती व्यक्ति को हुन र उनले कालो पोलिथिनको झोलामा के बोकेर हिँडेका थिए भनेर अनुसन्धान केन्द्रित गरेको प्रहरीले स्रोतले जानकारी दियो। आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ।