नेपालबाट बेचिएका एक हजार ८३४ जनाको उद्धार
काठमाडौँ – नेपालबाट बेचिएका एक हजार ८ सय ३४ जनाको उद्धार गरिएको छ । पछिल्ला ६ वर्षमा बेचबिखनमा परेका एक हजार ८ सय ३४ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
नेपालबाट चीन, भारत, गल्फ मुलुक, युरोप र अमेरिकामा मानिस बेचिने प्रहरीको भनाइ छ । नेपालभित्रै पनि आन्तरिक बेचबिखनका घटना भइरहेको प्रहरी बताउँछ । भारत तथा मध्यपूर्वी एसियाका मुलुकहरूबाट पीडितलाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रले बताए ।
उनका अनुसार उद्धार गरिएकामध्ये महिला धेरै छन् । मानव बेचबिखनको अपराध प्रवृत्ति आन्तरिक र बाह्य दुई प्रकारका छन् । आन्तरिक प्रवृत्ति अन्तर्गत मनोरञ्जन क्षेत्रमा नेपालभित्र महिला र बालिकालाई यौन धन्दामा लगाइन्छ ।
बाह्य प्रवृत्ति अन्तर्गत चीन, गल्फ मुलुक, दक्षिण एसिया, युरोप र अमेरिकासम्म नेपालीहरू बेचिने गरेका छन् । नेपालबाट महिला र युवतीहरू सबैभन्दा धेरै भारत र मध्यपूर्वी एसियामा पर्ने मुलुक दुबई, ओमान, कुवेत, इराक र सिरियामा बेचिन्छन् ।
होटल तथा कल कारखानामा ‘काम पाउने’ आसा बोकेर नेपालबाट महिला र युवतीहरू भारतका ठुला सहरमा पुग्छन् । तर, त्यहाँ लगेर विभिन्न समूहले वेश्यालयमा बेच्ने गरेको ब्यूरोका एसपी गौतम मिश्रले बताए । उनले भने, ‘हामीले नियन्त्रणको प्रयास गरिरहेका छौँ तर, पुराना समूह भत्कने र नयाँ समूहले काम थाल्ने गर्छन् ।’