क्यानडाले खोल्यो स्थायी बसोबासका लागि आवेदन
काठमाडौं – क्यानडाले स्थायी बसोबासका लागि आवेदन खोलेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) स्थायी बसोबासका लागि एक्सप्रेस इन्ट्री प्रणालीमार्फत आावेदन खोलेको हो ।
प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारले खोलेको कार्यक्रममा फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन दिन सकिनेछ। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, यस पटक १००० जना यो अवसरबाट लाभान्वित हुन सक्नेछन् ।
रिपोर्टमा उल्लेख गरिएअनुसार, सबैभन्दा कम अंक पाउने आवेदकको सीआरएस (कम्प्रिहेन्सिभ र्याङ्किङ सिस्टम( स्कोर ४४४ थियो। क्यानडामा बस्न चाहनेहरूले दिनुपर्ने एक किसिमको भाषा परीक्षालाई सीआरएस भनिन्छ। यसपटक फ्रान्सेली भाषा जान्नेहरूलाई बढी प्राथमिकता दिइएको छ।
एक्सप्रेस इन्ट्रीका लागि योग्य हुन आवेदकले स्वीकृत भाषा परीक्षा उत्तीर्ण गरी आफ्नो कार्यक्रमका लागि आवश्यक न्यूनतम अंक प्राप्त गर्नुपर्छ। साथै, आवेदन फारम भर्दा अंग्रेजी वा फ्रान्सेली भाषाको ज्ञान भएको प्रमाणित गर्नुपर्छ।
आवेदकहरूको अंग्रेजी वा फ्रान्सेली भाषाको स्तर मापन गर्न आईएलसीबी र एनसीएलसी बेञ्चमार्क प्रयोग गरिन्छ। क्यानडा जान चाहनेहरूको अंग्रेजी वा फ्रान्सेली भाषा कति राम्रो छ भनेर जाँच गर्ने विधिलाई आईएलसीबी र एनसीएलसी बेञ्चमार्क भनिन्छ।