कोहलपुर हत्याकाण्ड : अनिता परियारको सेफ्टीट्याङ्कीमा भेटियो चन्द्रबहादुरको टाउको

सोमबार, २८ असोज २०८१

नेपालगञ्ज – बाँकेको कोहलपुरमा हत्या गरिएका चन्द्रबहादुर कामीको शवको टाउको फेला परेको छ । कोहलपुर नगरपालिका–८, पिपिरीमा ४० वर्षीय कामीको शनिबार राति हत्या भएको थियो ।

घटनास्थलदेखि करिव चार सय मिटर टाढा अनिता परियारको घरमा रहेको सेफ्टीट्याङ्कीमा कामीको टाउको फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।

प्रहरीले हत्यामा अनिल परियारको संलग्नता आशंका गरेको छ ।

टाउको भेटिएको घर अनिलको बहिनी पर्नेको हो । पिपिरीचोकदेखि करिव दुई सय मिटर पूर्वमा रहेको शितलनगरमा कामीको हत्या गरिएको थियो । घटनास्थल नजिकको सरस्वती चोकमा रहेको सीसी क्यामेरामा एक युवकले कालो प्लास्टिकको झोलामा टाउको बोकेर गएको देखिएको थियो । प्रहरीले हत्यारा पक्राउ परिनसकेको जनाएको छ ।