वडाध्यक्षले भत्काए यातायात व्यवस्था कार्यालयको पर्खाल
दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी (बर्षात)ले यातायात व्यवस्था कार्यालय तुलसीपुरको पर्खालमा डोजर चलाइदिएका छन् । बिहीबार बिहान अध्यक्ष भण्डारीले पूर्वपट्टीको पर्खाल भत्काएका हुन् ।
वडाध्यक्ष भण्डारीले पर्खालको चुच्चो र बांगोटिंगो हुँदा दुर्घटनाको जोखिम बढाएको भन्दै भत्काएका हुन् । नमिलेको सडक भत्काएर पर्खाल भmन्डै एक मिटर पर सारिने वडाध्यक्ष भण्डारीले जानकारी दिए । साबिक सीप बिकास कार्यालयले उपभोग गर्दै आएको उक्त जग्गामा लगाइएको पर्खाल ब्यक्तिको जग्गामा पनि पर्ने हुँदा भत्काउनु परेको भण्डारीले बताए ।
तीन जनाले सीप विकासले आफूहरूको जग्गा मिचेको उजुरी वडा कार्यालयमा पुगेको उनले बताए।
‘आज हामीले भत्काएको ठाउँमा साढे दुई मिटर जग्गा व्यक्तिको मिचिएको छ’, उनले भने ‘ अर्कोपट्टी अझै तीन मिटर असी सेन्टिमिटर जग्गा मिचिएको छ। हामी त्यो पनि भत्काउँछौं ।’
अझैं चार मिटर पर्खाल भत्काउन जरुरी रहेको वडाध्यक्ष भण्डारीले बताए ।