बीपी राजमार्ग चार लेनको बनाउन सांसद दाहालको माग

शुक्रबार, २ कार्तिक २०८१

सिन्धुली – नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले विपि राजमार्ग ४ लेनको बनाउन माग गरेका छन् । बाढी पहिरोका कारण क्षतविक्षत भएको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग चार लेनको बनाउन माग गरेका हुन् ।

उनले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसमक्ष बाढी र पहिरोले क्षति पुगेको राजमार्गलाई पुनःनिर्माण थाल्न ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन्।

उनले बीपी राजमार्गको पुनःनिर्माण गर्दा सिन्धुलीको चियाबारी–खुर्कोट सुरुङ मार्ग र खुर्कोट–धुलिखेल खण्ड चार लेनको पुनःनिर्माण गर्न आवश्यक पर्ने बजेटको व्यवस्थापन गरिदिन मित्र राष्ट्र जापान सरकारलाई आग्रहसमेत गरेका छन्।

सांसद दाहालले मन्त्री दाहाललाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बीपी राजमार्गको तत्काल पुनर्निर्माण गर्न अवश्यक छ। उक्त सडक पुनर्निर्माण गर्दा भू–अवस्था, नदीहरूमा जलमापनको अवस्था र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै खुर्कोट–धुलिखेल खण्ड चार लेनको निर्माण गर्न ध्यानकर्षण गराउँदछु।’