बिनोद चौधरीलाई आलु बेच्दै विप्लव

शनिबार, ३ कार्तिक २०८१

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले डलर अर्बपति बिनोद चौधरीलाई आलु बेच्ने भएको छ । नेकपा आफैले उत्पादन गरेको आलु बिनोद चौधरीको सीजी फुट्सलाई बेच्ने भएको हो ।

नेकपाकी स्थायी समिती सदस्य एवम महिला नेतृ उमा सीका अनुसार पार्टीले उत्पादन गरेको आलु खरिद तथा बिक्रीवितरणका लागि जनश्रम कृषि सहकारी संस्था लिमिटेड र सिजि फुड्स नेपाल लिमिटेडबिच महत्वपूर्ण सम्झौता भएको छ । शुक्रबार चौधरी ग्रुपको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दुई संस्थाबीच सम्झौता भएको हो ।

जनश्रम कृषी सहकारी नेकपाको उत्पादन विभागले संचालन गरेको सहकारी हो । पछिल्लो समय संसदवादी अन्य राजनीतिक दलहरु विभिन्न काण्डैकाण्ड र बिबादमा मुछिएका बेला नेकपाले चौधरी ग्रुपसँग सम्झौता गरेको राजनीतिक बृत्तमा नयाँ सन्देश दिएको छ ।

पार्टीले देशैभरी सयौं बिघा जमिन भाडामा लिएर धान, गहुँ, तरकारी लगाएतका विभिन्न खाद्य बालीको खेती गरिरहेको छ भने विभिन्न ठाउँमा नेकपाले उद्योगहरु संचालन गरिरहेको छ । पार्टीले श्रम, संघर्ष र अनुसन्धानको नीति लिएर प्रयोग गरिरहेको नेकपाले जनाएको छ ।