मेरो सरकार : प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई राजासंग तुलना गरेपछि..

सोमबार, २३ बैशाख २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्व राजसंग तुलना गर्दै ‘मेरो सरकार’ भन्नु सहि भएको बताएका छन । सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्नु अन्तरराष्ट्रिय प्रचलन अनुरुप नै भएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताका आधारमा चयन भएको राजाले ‘मेरो सरकार’ भन्नुचाहिँ हुने जनप्रतिनिधिका रुपमा रहेको राष्ट्रपतिले भन्नु नहुने के छ भन्दै राष्ट्रपतिलाई राजासंग तुलना गरेका हुन । राष्ट्रपतिले मेरो सरकार भनेपछि महारानी भनेर विरोध भइरहेका वेला उनले राजासंग तुलना गरेपछि विपक्षी झन चिडिएको छ ।

प्रतिपक्ष काँग्रेसले भनेको छ, ‘राजाभन्दा राष्ट्रपति भन्ने संस्था धेरै माथि हो । राष्ट्रपति जननीर्वाचित संस्था हो, यसको महत्व राजाको भन्दा कयौं गुणा ठुलो छ । तर राजतन्त्रका जसरी मेरो सरकार भन्दै संसदलाई संबोधन गर्नु तानासाही प्रबृति हो ।’