मधेशबाट सिके राउतलाई गलहत्याएर उपेन्द्रलाई भित्र्याउदै ओली, यस्तो छ भित्री तयारी
काठमाडौं – मधेशमा सिके रावत नेतृत्वको जनमत पार्टीलाई मधेश सरकारबाट गलहत्याएर उपेन्द्रलाई यादवलाई भित्राउने सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच समझदारी बनेको छ। अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ । मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन् ।
मधेशको सरकारको नेतृत्व पाएपछि नै जनमत पार्टीले केन्द्र सरकारलाई विश्वासको मत दिएको हो । तर, अहिले सरकारसँग जनमतको सम्बन्ध बिग्रिँदो छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समेत सरकारविरुद्ध कडा अभिव्यक्ति दिन थालेका छन् ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै राउतले सरकारविरुद्ध असन्तुष्टि पोखेका थिए । उनले राज्यले लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै पक्षमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका छन् । राउतले हिजोमात्रै पार्टीको सचिवालय बैठकमार्फत सरकारविरुद्ध देशव्यापी आन्दोलन छेड्ने घोषणा गरेका छन् ।
राउतको यस्तो निर्णयपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मधेश सरकारको नेतृत्व फेर्ने गृहकार्य थालेको बालुवाटरनिकट उच्च स्रोतको दाबी छ । प्रधानमन्त्री ओली मधेश सरकारको नेतृत्व उपेन्द्र यादवको दललाई दिनपनि राजी भएको बुझिएको छ ।