आफूलाई झुक्याएको भन्दै आइजिपीले सोधे डिआइजीलाई स्पष्टिकरण
काठमाडौं – आफुलाई झुक्याएर सादा पोशाकका प्रहरी परिचालन गरेको भन्दै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङसँग स्पष्टिकरण सोधेका छन् । त्यसरी खटाइएका प्रहरी आर्थिक लेनदेनमा संलग्न देखिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत एक जवानले प्रहरी महानिरीक्षकबाट खटाएको हुँ भन्दै धम्काएको खबर पाएपछि महानिरीक्षक कुँवरले कारबाही गर्न निर्देशन दिएका थिए । तर, ती प्रहरीलाई गणमा काज देखाएर जिल्ला प्रहरी कार्यालय मोरङमै खटाएको खुलेपछि डिआइजी खापुङमाथि पनि कारबाही हुन लागेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
मोरङका तत्कालिन एसपी नवराज कार्कीले तीनै घुमुवा परिचालन गरी क्रिप्टो कारोबार गर्नेसँग ४० लाख रुपैयाँ असुलेको हाल बाहिर आएको छ । सो विषयमा विस्तृत छानविन भइरहेको छ ।
तर, पीडितलाई प्रभावमा पारी उजुरी दिनबारे रोक्ने एसपीलाई जोगाउने चलखेलसमेत भइरहेको प्रहरी स्रोत बताउँछ ।