घमण्डी राजा

बिहिबार, ८ कार्तिक २०८१

एक राजा आफ्नो बहादुरी र सुशासनका लागि चर्चित थिए । एकपटक उनी आफ्ना गुरुसँग देशयात्रा गर्दै थिए । आफ्नो राज्यको समृद्धि र खुसी देखेर उनलाई गर्व लाग्यो । उनले मनमनै सोचे– साँच्चै म कति महान् राजा रहेछु । यति धेरै जनताको सुरक्षा र सुखसयलबारे मैले कति धेरै काम गरेको रहेछु । म नभएको भए यी जनताको के हाल हुँदो हो ?

राजाको घमण्ड देखेर गुरुले जुक्ती लगाए । गुरु सर्वज्ञ भएकाले राजाको मनोभाव बुझे र तुरुन्तै त्यसलाई सुधार्ने निर्णय गरे ।

बाटामा एउटा ठुलो ढुंगो थियो । गुरुले सिपाहीलाई त्यसलाई फुटाउन निर्देशन दिए । सिपाहीले ढुंगालाई दुई टुक्रा पारे । त्यहाँ एउटा अचम्मको दृश्य देखियो । ढुंगाको बिचमा केही पानी थियो र त्यसमा एउटा सानो भ्यागुतो बसिरहेको थियो । ढुंगो फुट्नेबित्तिकै ऊ त्यहाँबाट उफ्रिँदै भाग्यो । यो देख्दा भ्यागुतो कसरी त्यहाँ त्यो हालतमा बाँच्यो होला भनेर सबै अचम्ममा परे ।

गुरुले राजातर्फ फर्केर सोधे– महाराज, एकैछिनअघि तपाईं यस राज्यका सबैको हेरचाह मैले नै गरिरहेको छु भनेर सोच्दै हुनुहुन्थ्यो । सबैको पालनपोषण तपाईंले गर्दै हुनुहुन्थ्यो भने यो ढुंगाको बिचमा फसेको भ्यागुताको हेरचाहचाहिँ कसले गरिरहेको थियो ? यो भ्यागुतो यहाँ कसरी बाँचिरहेको थियो ? यो भ्यागुताको रक्षक को हो ?

राजालाई आफ्नो गल्ती थाहा भयो । आफूले गरेको घमन्ड सम्झेर उनी पछुताए । गुरुको कृपाले उनले प्रकृतिको अनौठो रहस्यको ज्ञान पाए । उनले प्रकृतिमा सबै प्राणीलाई बचाउने अदृश्य सामथ्र्य भएको पनि बुझे ।