सहकारी ठगिपछि रवि र छवि दुबैलाई अर्को यस्तो खतरनाक मुद्धामा अनुसन्धान गर्दै प्रहरी

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी (डीएसपी) वसन्त शर्माले बताए ।

प्रहरीले पूर्वडीआइजी छविलाल जोशी र लीला पछाई विरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ । तिनै जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले अनुमति दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई थप २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले आरोपीहरूको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नेछ ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । पूर्वडीआईजी छविलाल जोशी असोज ६ मा र पछाई असोज १५ मा पक्राउ परेकी थिइन् । लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए । उनीहरु विरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीवी राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए ।