सहकारी ठगी आरोपमा सांसदका छोरा पक्राउ
काठमाडौँ – सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्।
सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो।
वचतकर्ता र शेयर सदस्यको झण्डै डेढ करोड रुपियाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपियाँ ठगी गरेको देखिएको छ। पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन्।
कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताएका हुन् । प्रदेश रजिष्ट्रार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताए । पक्राउ गरिएका खनाल हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका छन्।