भेट्न आएका रास्वपा नेतालाई ओलीले भने, ‘जुठो परेको थियो केरे, काट्टो खान आउनुभयो ?’

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाइदिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका नेतालाई मुखभरिको जवाफ फर्काउर पठाएका छन् । सोमबार राती सहकारी ठगीमा पक्राउ परेका रविप्रति नरम भैदिन आग्रह गरेर बालुवाटार पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले मुखभरिको जवाफ दिएर फर्काइदिएका हुन् ।

दिनभरि सडक प्रदर्शन गरेका रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियार हिजो राती प्रधानमन्त्री भेट्न गएका थिए । राति साढे ८ बजे बालुवाटार छिरेका उनीहरुलाई अढाई घण्टा कुराएर ओलीले ११ बजे भेटेका थिए ।

अर्याल र परियारले नमस्कार गर्न नभ्याउँदै ओलीले, ‘मेरो पुत्ला जलाउनु भयो, सदगत पनि गर्नुभयो । जुठो परेको थियो केरे, काट्टो खान आउनुभएको होला हैन ?’ भनेका थिए । औपचारिक कुराकानीसमेत नगरी प्रधानमन्त्री एकाएक यसरी पड्किएपछि अलमलमा परेका रास्वपा नेताले सम्हालिंदै भने, ‘प्रधानमन्त्रीज्यू, सरकारले पूर्वाग्रह राख्यो कि भन्ने हामीलाई परेको छ । यसमा तपाईंले अलिकति बिचार पुर्याइदिनुहुन्छ कि भन्ने हाम्रो अपेक्षा हो ।’

जवाफमा प्रधानमन्त्री ओलीले रवि लामिछाने पक्राउ पर्नुमा सरकारको भूमिका नरहेको र कानुनी प्रक्रियामा बाधा हाल्ने कुरा स्वीकार्य नहुने घुमाउरो चेतावनी दिएका थिए । प्रतिवादी छुटाउन सांसदहरु सडकमा ओर्लिएकोमा पनि उनको आपत्ति थियो ।

‘कानुनलाई आफ्नो कोर्षमा जान दिनुस्, अदालतबाट क्लिनचिट लिएर आए भैहाल्छ, सडकमा किन तमाशा देखाउनुपर्यो’, ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीको यस्तो जवाफपछि रास्वपाका नेताद्वय निराश हुँदै मध्यराति बालुवाटारबाट बाहिरिएको बताइएको छ ।