लक्ष्मीपूजाको दिन १६०२ मेगावाट विजुली खपत

शुक्रबार, १६ कार्तिक २०८१

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात समेत गरिएको प्राधिकरणले जनाएको छ ।

गत वर्ष लक्ष्मी पूजाको दिन पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।