रवि लामिछानेले एउटै सहकारीबाट दुई पटक ऋण लिएको भेटियो, ३५ थान रसिद बरामद

शनिबार, १७ कार्तिक २०८१

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एउटा सहकारीबाट दुई पटक ऋण दिएको पाइएको छ । प्रहरीले गरेको अनुसन्धानपछि काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रविले दुई पटक झण्डै ९४ लाखको कर्जा लिएको पाइएको हो ।

२७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट लामिछानेले पनि दुईपटक ऋण लिएको तर फिर्ता नगरेको प्रमाण फेला परेको छ । सहकारीका अध्यक्ष जीबी राई र रविले संयुक्त नाममा ऋण लिएको भेटिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ ।

२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिएका छन । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा फेला परेको छ । त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ ।

स्वर्णलक्ष्मीबाट गैह्रकानुनी रुपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गरेका प्रहरी वृत्त कालीमाटीका एकजना अधिकृत भन्छन्, ‘रवि लामिछानेको नाम समेत भएको ३५ थान भौचर बरामद गरेका छौँ ।’

स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।