प्रहरीले फोड्यो एमाले नेता ऋषिकेश पोखरेल जोडिएको सहकारीको ताला, महत्वपूर्ण कागजात बरामद
विराटनगर – नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेल जोडिएको उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालयको कागजात प्रहरीले लगेको छ । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि बन्द रहेको सहकारीको कार्यालयको ताला फोडेर प्रहरीले कागजात करामद गरेको हो ।
सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा असहयोग गरेपछि प्रहरीले १४ कात्तिकमा सटरको ताला फुटाएर कागजात जफत गरेको थियो । मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सहकारी ठगी प्रकरण अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि सहकारी सञ्चालकले असहयोग गरेपछि बन्द रहेको कार्यालयबाट कागजात लगेको उनको भनाई छ ।
‘यो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ,, त्यहाँ पत्राचार गरियो, समन्वय गर्न पनि खोजियो तर कोही सम्पर्कमा नआएपछि रीतपूर्वक प्रक्रिया मिलाएर खानतलासी गरेको हो,’ उनले भने, ‘रंगेली इलाका मार्फत अनुसन्धान भइरहेको छ ।’ सहकारी सञ्चालक कार्यालय बन्द गरेर हिँडेपछि कोसी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको विषय अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
यो सहकारी ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला जोडिएकी छिन् । सांसद पोखरेल पत्नी यो सहकारीको सञ्चालक समितिमा रहेर काम गरेकी छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।
उमागौरी कृषि सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार ऋषिका कार्यकर्ता हुन् । सहकारी सञ्चालन गर्ने भएपछि ऋषिले आफ्नो नाम राख्न नमिल्ने भएका कारण त्यसबेला श्रीमतीको नाम राखेको उनी निकट स्रोत बताउँछ । ऋषिको सल्लाहमा सहकारी सञ्चालन गरेका रौनियारलाई अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण पोखरेलले नै मिलाएका थिए ।
सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पठाएको पत्रमा सांसद पोखरेल पत्नीको नाम छैन । वर्तमान सञ्चालक समितिको नाम मात्रै समावेश गरेर रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको हो । २०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पत्नी कोइराला दुई कार्यकाल सञ्चालक थिइन् । सांसद पत्नी कोइराला सञ्चालक रहेको कागजात पनि रजिस्ट्रार कार्यालयबाट गायब छ ।
सहकारीबाट राजीनामा दिए पनि उनी सञ्चालक रहेको समयमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नतिरेका कारण लघुवित्तले ऋषि पत्नी कोइराला सहित अन्य सञ्चालकलाई कालोसूचीमा राखेको छ । कालोसूची विरुद्ध कोइरालाले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् । उनको रिट अदालतमा विचाराधीन छ ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
उमागौरी कृषि सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियारले भने जबर्जस्ती आफ्नो सहकारीबाट ताला फुटाएर प्रहरीले कागजात लगेको आरोप लगाएका छन् । रौनियारले विज्ञप्ति जारी गर्दै बन्द रहेको अवस्थामा जबर्जस्ती कागजात लगेको अरोप लगाएका हुन् । प्रहरीले स्थानीय जनप्रतिनिधि र प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका कर्मचारीको रोहवरमा ताला फोडेको थियो ।