मानव तस्करको डिजाइनमा जापान पुगेका थिए मन्त्री अधिकारी

बुधबार, २१ कार्तिक २०८१

विराटनगर – भर्खरै राजीनामा दिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करको डिजाइनमा जापान पुगेको खुलासा भएको छ । एमालेबाट निर्वाचित अधिकारी ११ कात्तिकमा जापान उडेका थिए ।

जापान भ्रमणका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मौखिक जानकारी गराए पनि मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको थिएन । अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । उनलाई पठाइएको निम्तोमा अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म कार्यक्रमको तालिका थियो ।

उनलाई जापान जाने व्यवस्थापन मोरङ घर भई काठमाडौ बस्दै आएका एक एमाले कार्यकर्ताले मिलाएका थिए । आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर हिँडेका उनी हङकङ पुगेपछि झस्किएका थिए । हङकङमा ट्रान्जिटको बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै तीन जना नेपाली भेट्न आए । भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई र दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटाले उनलाई भेटेका थिए ।

तीनै जनाको साथमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहायक स्तरको कर्मचारीको परिचय पत्र थियो । मन्त्रालयको परिचय पत्र बोकेका तीन जनालाई सोधीखोजी गर्दा टोकियोमा पुगेपछि नफर्किने जवाफ दिए । अवैध रुपमा मानिस ओसार पसार गर्ने समूहले आफूसँगै तीन जनालाई जापान पुर्‍याउन लागेको थाहा पाएपछि अधिकारी झस्किएका हुन् ।

‘मन्त्रालयका कर्मचारी त म चिन्छु, तीन जना परिचय गर्न आएपछि म झस्किएँ’, अधिकारीले भने, ‘हङकङबाट फर्कन खोजेँ, तर ट्रान्जिट भएकाले मिलेन, टोकियो पुग्नै पर्‍यो ।’ टोकियो पुगेपछि मन्त्री अधिकारी पूर्वनिर्धारित कार्यक्रममा गएनन्, आफूसँग गएका तीनै जनालाई लिएर नेपाल फर्किए । ‘कार्यक्रममा गएको भए उनीहरु लुक्ने थिए, त्यसैले गइनँ’, उनले भने, ‘सँगै नेपाल फर्किएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएँ ।’

उनका अनुसार तीन जनालाई जापान लैजाने भनेर पैसा पनि उठाएको देखिएको छ । हङकङबाटै नेपाल प्रहरीको बिशेष ब्यूरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएको मन्त्री अधिकारीको भनाइ छ । उनीहरुको म्याद थप गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।