बालिकाको मृत्यु भएपछि उपचारमा संलग्न तीन चिकित्सक प्रहरीको नियन्त्रणमा

बिहिबार, २२ कार्तिक २०८१

काठमाडौँ – डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ।

घरमै खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो।

सामान्य उपचारपछि बुधबार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बालिकाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकहरू नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा.  राजमणि यादव, डा.  सुरेन्द्र कुमार चौधरी र डा.  अभिषेक यादव रहेका छन्।