माओवादीसँग मिलेर उपचुनाव लड्ने एकीकृत समाजवादीको तयारी
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सकेसम्म कसैसँग सहकार्य वा गठबन्धन नगरेरै चुनाव लड्ने तयारी गरेको छ ।
स्थानीय तहका अध्यक्ष,उपाध्यक्ष, मेयर उपमेयर, जिल्ला समन्वय समिति प्रमुख र वडाध्यक्ष गरी ४४ वटा पदमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय मंसिर २ गतेलाई तोकिएको छ ।उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै सो पार्टीले निर्वाचनको आन्तरिक तयारी गरेपनि कुन कुन पदमा एकल उम्मेदवार उठाउने र कहाँकहाँ अरू पार्टीसँग सहकार्य गर्ने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन ।
तर, पार्टीका नेताहरूले उपनिर्वाचनमा सकेसम्म एक्लै चुनाव लड्ने र त्यो अवस्था नभए विपक्षी दलहरूसँग मिलेर निर्वाचन लड्ने तयारी भएपनि अन्तिम निर्णय भैनसकेको बताएका छन् । सो पार्टीले गत भदौ महिनामै स्थानीय तह उपनिर्वाचनमा जित्ने स्थानीय तहको पहिचान गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको थियो ।
उपनिर्वाचनको मिति घोषणा नहुँदै महासचिव घनश्याम भुसालले सर्कुलर जारी गर्दै नेता तथा कार्यकर्तालाई उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए ।उनले माओवादीलगायतका विपक्षी दलहरूसँग उपनिर्वाचनमा सहकार्य गर्नेबारे सामान्य छलफल भइरहेको तर सत्तारुढ दल एमाले र काँग्रेस अहिलेसम्म कुनै सरसल्लाह नभएको बताए । उपमहासचिव भट्टराईले उपनिर्वाचन परिचालन कमिटीको शुक्रबार बस्ने बैठकले थप छलफल र निर्णय गर्ने बताए ।