वर्तमान सरकार केपी-देउवाको नभएर अरु कसैको भएको प्रचण्डको खुलासा
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार कांग्रेस(एमाले मिलेर नबनेको बताएका छन् । माओवादी केन्द्रको नेतृत्ववाला सरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उनको भनाइ छ ।
योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरुको नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ गर्न थाल्दा आत्तिएकाहरुले कुनै एउटा व्यवसायीको घरमा बसेर सरकार ढाल्ने कथा लेखेको बताए ।
आफू अघिल्लो सरकारमा सके राम्रो गर्छु, तर नराम्रो गर्दिनँ र नराम्रो गर्न दिन्न भन्ने संकल्पसहित आएको र सोहीअनुसारको काम गर्दा दलालहरुको सात्तो गएको उनको भनाइ छ ।
आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चमा समेत शीर उठाउनेगरी राम्रा काम भएको बताउँदै प्रचण्डले सयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनबारे आफ्नो धारणा सुनेर संघका महासचिव नेपाल आएर नेपालबाट अन्तर्राष्ट्रिय सन्देश दिएको बताए ।