कलाकार दीपकराज गिरी रवि लामिछानेको पक्षमा, हिरासतमै गएर भने उनि बदमास होइनन्

आइतबार, २५ कार्तिक २०८१

काठमाडौं – कलाकार एवम् चलचित्र निर्माता दीपकराज गिरीले पुराना साथीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा भेटेका छन् ।

पत्नी र साथी निर्मल शर्मासहित शनिबार राति पोखरा पुगेर दीपकले रविलाई भेटेका हुन् । उनले रविलाई भेटेपछि सय अपराधी छुटे पनि एउटा नरपराधी फस्न नहुने बताए ।

‘म त भन्छु, सयजना अपराधी छुटुन् तर एउटा निरपराधी नपरोस् । मुलुकमा निराशा बढिरहेका बेला देशलाई नयाँ बाटोमा लान्छु, नयाँ नेतृत्व दिन्छु भन्ने मान्छेले यो तहको बदमासी गर्‍यो भन्ने मलाई लाग्दैन । त्यो हदसम्म चुक्ला भन्ने मलाई लाग्दैन’, उनले भने, ‘रवि र मेरो पुरानो मित्रता छ । ३० वर्षभन्दा अघिदेखिको मित्रता हो । म गैराजनीतिक व्यक्ति हो । एउटालाई पर्दा अर्को साथी आउनु स्वभाविक पनि हो ।’

उनले आफू सामाजिक प्राणी भएकाले राजनीति घटनाक्रमबाट टाढा रहन नसक्ने बताए । ‘त्यसो भन्दा हामी सामाजिक राजनीतिक कुराबाट टाढा बस्न सक्दैनौँ । सबैभन्दा पहिलो कारण मित्रता हो । कानुनी कुरामा हामीले बोल्न मिल्दैन’, उनले भने, ‘सकेसम्म उहाँलाई हिरासत बाहिरै राखेर अनुसन्धान होस् भन्न चाहन्छु । उनले रविबाट सरकारले लगाए जस्तो गम्भीर आरोपको घटना गराए जस्तो नलागेको दोहोर्‍याए । ‘रविले त्यो तहको जघन्य अपराध गरे जस्तो लाग्दैन । व्यक्तिगत सम्बन्ध हुँदा म चिन्थेँ’, उनले भने, ‘देशको नेतृत्व सम्हाल्छु भन्ने मान्छे त्यो हदसम्म चुक्लान् जस्तो लाग्दैन ।’