एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला कालोसूचीमा

बिहिबार, ६ मंसिर २०८१

काठमाडौँ – प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति तथा नेकपा एमालेका नेता ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको खुलासा भएको छ । मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको तत्कालीन सञ्चालक समिति सदस्य अन्जला सहकारीकै कारण कालेसूचीमा परेकी हुन् ।

सहकारीको सदस्य रहेको बेला रुपन्देहीको बुटवलस्थित आरडिसी लघुवित्तबाट ऋण माग गरेको र नतिरेकोले अन्जलालाई कालोसूचीमा राखिएको थियो । विराटनगरको शनिहाटस्थित विराट रात्री माविको शिक्षिकासमेत रहेही उनीबाट ऋण असुलउपर गराउन आरडिसीले विद्यालय र शिक्षा समन्वय समितिलाई पनि पत्राचार गरेको थियो । तर, उनले बेवास्ता गरेपछि लघुवित्तले कालोसूचीका लागि पक्रिया अगाडि बढाएको थियो ।

कर्जा सूचना केन्द्रको कालोसूची नम्बर ७५०६३ मा कोइरालासहित सहकारीका ११ जनाको नाम सूचीकृत छ । उनलाई कर्जा सूचना केन्द्रले २०८० साउनमा कालोसूचीमा राखेको थियो । उनी कालोसूचीमा परेको खुलासापछि शिक्षिकसमेत रहेकी उनको तलबभत्तासमेत रोकिएको थियो ।

आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराइन् । मुद्दामा सहकारी र लघुवित्तलाई विपक्षी बनाइएको छ । न्यायाधीशद्वय ममता खनाल र नरेशकुमार चौधरीको संयुक्त इजलासले १३ असोजको प्रारम्भिक सुनुवाईपछि असोज र कात्तिकको तलब र दशैं भत्ता भुक्तानी दिन अन्तरिम आदेश दियो ।

त्यसैगरी, कालोसूचीमा राख्नुपर्ने कारणसहित जवाफ पेश गर्न सहकारी र लघुवित्तको नाममा १५ दिने म्याद जारी गरियो । लघुवित्तका कर्मचारी ध्रुवकुमार पौडेलले उमागौरीले लिएको कर्जाबारे आफू जानकार नरहेको र अन्जलाले अदालतलाई गुमराहमा पार्ने प्रयास गरेको भन्दै विचाराधीन रिट खारेजीको माग गरेका छन् ।

सहकारीले गत असोज १० गतेसम्म साँवा तथा ब्याज र हर्जानाबापत तीन करोड ४३ लाख ७२ हजार ८८३ रुपैयाँ ५४ पैसा भुक्तानी गर्न बाँकी रहेको लघुवित्तको दाबी छ । ‘बाँकी रहेको र उक्त कारोबारको सम्बन्धमा अन्जला कोइराला जानकार रहेकोले उपरोक्त बमोजिमका कर्जाहरुको लागि अख्तियारी प्रदान गर्नुको साथै संस्थाले ऋण नतिरेको खण्डमा आफूसमेतले तिर्ने भनि कबुलियतनामा गरी धनजमानी समेत दिएको हुँदा सो धन जमानी लिखतलाई अन्यथा भन्न वा प्रमाणित गर्न सक्नुहुने छैन’,जवाफमा उल्लेख छ ।

सहकारीले लघुवित्तबाट २०७७ असोज २३ गते दुई करोड र फागुन १३ गते थप दुई करोड लिएको थियो । २०७८ असार २४ गते ७५ लाख रुपैयाँ कर्जा लगेको थियो । कर्जा माग गर्ने निर्णय गर्दाको तीनवटै वैठकमा अध्यक्ष रौनियार, उपाध्यक्ष राई, कोषाध्यक्ष सिंह, सचिव मियाँ, सञ्चालक अन्जला, आमोद र रोशनको उपस्थिति छ । उनीहरुले निर्णयमा हस्ताक्षर पनि गरेका छन् । निर्णयमा कर्जा तोकिएको समयभित्रै चुक्ता गर्ने उल्लेख गरिएको छ ।

अन्जला सबै बैठकमा उपस्थित छिन् भने उनले हस्ताक्षर पनि गरेकी छिन् । अन्जलाले राजीनामा दिएको भएपनि ऋण लिने बेलामा कबुलियत गरेकोले दायित्व होइन् भन्दै पन्छिन नमिल्ने लघुवित्तको तर्क छ ।